भारतीय नाकाबन्दी बिरुद्दको प्रदर्शनमा सहभागी हुन एनआरएनए कोरियाको अपील

Published On: Friday, November 20, 2015 | Source: NRNA KOREA

आदरणिय कोरियावासी गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,

सर्वप्रथम गैरआवासीय नेपाली संघराष्ट्रियसमन्वयपरिषद दक्षिण कोरियाको पांचौ कार्यसमितिको तर्फबाट यहांहरु सबैलाई हार्दिक अभिवादन टक्र्याउन चाहन्छौं। कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्ने गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया हाल नेपालको दक्षिणी सिमावर्ती क्षेत्रमा भैरहेको राजनीतिक बिरोध प्रदर्शन तथा पछिल्लो केहि महिनादेखि भारतको अघोषित नाकाबन्दीले उत्पन्न गम्भिर मानवीय संकटका कारण अत्यन्त दुखित भएको छ।संघियलोकतान्त्रिक गणतान्त्र नेपालको नयां संविधान जारी पश्चात असन्तुष्टि जनाउंदै दक्षिणी छिमेकी राष्ट्र भारतले गरेको अघोषित नाकाबन्दीले मुलुकमा इन्धन, औषधि र अक्सिजनलगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा कठिनाइ उत्पन्न भएको छ। गत अप्रिल २५ र मे १२ का दिन आएका दुई महा-भूकम्पबाट शोक र दुःखमा डुबेका नेपाल र नेपाली यो भयङ्कर विपत्तिबाट तंग्रिन नपाउंदै, यही सेप्टेम्बर २० देखि अप्रत्याशित रुपमा नेपाल विरुद्ध भारतले लगाएको अघोषित नाकाबन्दीले नेपाली जनजीवन अस्तव्यस्त हुनुका साथै आधारभूत मानब अधिकारको समेत हनन भएकोमा यसप्रति गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको गम्भीर ध्यानाकर्षण भएको छ।

 

भुपरिवेष्ठित राष्ट्रले निर्वाधरुपमा पारवाहन सम्बन्धि अधिकार पाउने राष्ट्रसंघीय महासन्धीलाई समेत अवमुल्यन गरी नेपालमा नाकाबन्दी गरेर भारतले अन्तराष्ट्रिय, क्षेत्रीय तथा द्विपक्षीय कानुन, सन्धि–सम्झौता उल्लंघन गरेको छ।तर यसको ठिक बिपरीत भारतीय पक्षले उसको तर्फबाट कुनै अबरोध नरहेको दावी गर्दै अन्तरराष्ट्रिय समुदायमा भ्रामक प्रचार गर्दै आइरहेको छ।नेपालको संबिधानलाई लिएर भारतले खेलेको वर्तमान भूमिकाबाट हाम्रो मानव अधिकारको चरम उपहास भएको छ। भारतले नेपालमा अन्तराष्ट्रीय कानुन बिपरीत गरेको नाकाबन्दी र नेपालको राष्ट्रिय सार्बभौमिकतामा नाङगो हस्तक्षप गर्ने उसको कुचेस्टालाई प्रवासमा रहेका हामी सम्पूर्ण गैर आवासीय नेपालीहररुले अन्तरराष्ट्रियकरण गर्दै त्यस्ता प्रबृतिको विरुद्ध आवाज उठाउने समय आएको हामीले महसुश गरेका छौं। तसर्थ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको पहलमा कोरियामा रहेका विभिन्न नेपाली संघ-संस्थाहरुसंगको घनिभूत छलफल र सल्लाह पश्चात भारतिय हस्तक्षेपको विरुद्द यहि मिति २०१५ नोभेम्बर २३ तारिख कोरिया स्थित भारतिय दूतावास परिसरमा बिरोध प्रदर्शन जनाउंदै दूतावास मार्फत भारत सरकारलाई विरोध-पत्र पेश गर्ने कार्यक्रम रहेको हुंदा कोरिया स्थित विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, विधार्थी, व्यापारी, बुद्दिजीवि, पत्रकार लगायत सम्पूर्ण नेपाली समुदायलाई उक्त बिरोध प्रदर्शन कार्यक्रममा सहभागी भइ भारतीय हस्तक्षेप बिरुद्दको हाम्रो यस अभियानमा ऐकेबद्दता जनाइ सहयोग गरिदिनुहुन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया हार्दिक आव्ह्वान गर्दछ। यसका साथै बिरोध प्रदर्शनको तयारी तथा सो सम्बन्धि छलफल, सल्लाह र सुझावको लागि मिति २०१५ नोभेम्बर २२ तारिख दिनको ठिक ४:३० बजे नेपाल हाउसमा एक भेला राखिएको हुंदा, उक्त भेलामा उपस्थित भैदिनुहुन यसै अपील मार्फ सम्बन्धित सबैमा जानकारी गराउंदछौं।

 

बिरोध प्रदर्शन कार्यक्रमको विस्तृत विवरण निम्न बमोजिम रहेको छ।

मिति: २३ नोभेम्बर, २०१५

भेला हुने समय: दिवा १:०० बजेदेखि दिवा २:०० बजेसम्म

स्थान: सउल स्टेशन

कार्यक्रम: दिवा २:०० बजेदेखि दिवा ३:०० बजेसम्म बिरोध सभा तथा पत्रकार सम्मेलन

        दिवा ३:०० बजेदेखि ४:२० बजेसम्म र्यालि (५.५ कि.मी.)

        (सउल स्टेशनबाट हानाम ईन्डियन दूतावाससम्म)

समापन: बिरोध-पत्र पेश

संयोजन: एनआरएन कोरिया, सपोर्ट नेपाल फाउण्डेशन लगायत कोरियामा रहेका सम्पूर्ण नेपाली संघ-संस्थाहरु

               

नोट: उक्त दिन संभव भए नेपाली राष्ट्रिय पोशाकमा उपस्थित भैदिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं।

 

 

धन्यवाद्।

 

एनआरएनए कोरिया