Enter Title

नेपाल हाउस
 
विगत दुई दशकदेखि मात्र कोरियामा नेपालीहरुको आगमन संख्या एक्कासी बढ्दै गएको पाईन्छ। विगतमा नेपाली राजदूतावास नभएको अवस्थामा कोरियामा रहेका नेपाली समुदायको व्यक्तिगत एवं संस्थागत पहलमा कोरियन समाजमा नेपाल र नेपालीको चिनारी दिलाउने तथा आपत बिपदमा परेका नेपालीहरुलाई आवश्यक सहयोग प्रदान गर्ने कार्य हुंदै आएका थिए। पछि रोजगार अनुमति प्रणालि वा बिभिन्न माध्यमबाट कोरिया प्रवेश गर्ने नेपालीहरूको चाप बढ्दै गएको र उनीहरुका समस्यालाई एउटै छातामुनि विविध जानकारीहरू सहित परामर्श र आपतकालिन आवासको समेत सेवा पुर्याउने परिकल्पना स्वरुप सन् २०१० मा एन आर एन कोरियाले गैर आवासीय नेपाली संघको विश्वब्यापी एजेण्डाको रुपमा नेपाल हाउसको अवधारणा अघि सारेको हो। यसै क्रममा एनआरएन कोरियाले दक्षिण कोरिया स्थित नेपाली राजदूतावास तथा बृहत नेपाली समुदाय र संघ संस्थाहरुसंग सहकार्य गर्दै कोरियाली भूमिमा हाम्रो मातृभूमि नेपालको थप चिनारी दिन, लुकेका र प्रष्ट हुन नसकेका विविध सांस्कृतिक तथा ऐतिहासिक तथ्यहरुलाई प्रष्ट्याउन, नेपालको पर्यटन क्षेत्रको चिनारी र जानकारी दिन, जलस्रोत लगायत अन्य शैक्षिक तथा सामाजिक विकासका परियोजना बारे लगानिकर्ताहरुलाई आकर्षित गर्दै कोरियामा आपत विपदमा परेका नेपालीहरुलाई आवश्यक परामर्श सेवाका साथ अस्थायी रुपमा आपतकालीन आवासको सुविधा समेत दिने उद्देश्य अनुरुप सन् २०१० मा नेपाल हाउसको स्थापना गरेको हो।
 
हाल नेपाल हाउसले प्रदान गरेका सेवाहरु
 
१. नेपाली तथा कोरियन भाषा कक्षा संचालन
कोरियामा वसोबास गर्ने नेपालीहरुको भाषागत समस्यालाई मध्येनजर राख्दै कोरियन भाषा, संस्कृति तथा कोरियन जीवनपद्दतीको बारेमा आवश्यक ज्ञान दिदै उनीहरुको कोरिया बसाइलाई अझ भढी सहजिकरण पार्ने उद्देश्यले प्रत्येक हप्ता आईतबार दक्ष तथा अनुभवी कोरियन भाषा शिक्षकहरुद्वारा नेपालीहरुको लागि कोरियन भाषा कक्षा संचालन गरिने योजना रहेको छ। यसैगरी नेपाल तथा नेपाली भाषा र संस्कृतिको बारेमा विषेश रुचि राख्ने कोरियनहरुको लागि नेपालको बारेमा आवश्यक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ गत जुलाई महिनाबाट प्रत्येक बिहिबार बेलुकी नेपाली भाषा कक्षा संचालन हुंदै आईरहेको छ। यस्ता भाषा कक्षा संचालनले नेपाल र कोरियाको सामाजिक, शैक्षिक तथा संस्कृतिक क्षेत्रको आदानप्रदानमा प्रभावकारी भूमिका खेल्ने भएकोले आगामी दिनमा यस्तै खाले थप शिक्षामूलक कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ। कोरियन तथा नेपाली भाषा सिक्न ईच्छुक कुनैपनि नेपाली तथा कोरियनले नेपाल हाउसमा संचालन हुंदै आईरहेको भाषा कक्षामा कुनै पनि समयमा आवेदन दिन सक्नेछन्। भाषा कक्षाको बारेमा थप जानकारी लिनको लागि एन आर एन कोरियाको ठेगानामा सम्पर्क गर्न सकिनेछ।
 
२. नेपालीहरुको लागी अस्थायी आवासीय सेवा
कोरियामा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको आपतकालीन आवासीय समस्यालाई मध्येनजर राख्दै अस्थायी रुपमा आवासीय सेवा आवश्यक परेका नेपालीहरुको लागी नेपाल हाउसले आस्थाई वसोबारको सेवा प्रदान गर्दै आएको छ। हाल बढीमा १० जनासम्म अटाउने गरी नेपाल हाउसको माथिल्लो तलामा अस्थायी आवासको लागी एक छुट्टै कोठाको व्यवस्था गरिएको छ। कोरिया बसाइको क्रममा आपतकालीन रुपमा आवासीय समस्या परेका नेपालीहरुले कुनैपनि समयमा एन आर एन कोरियाको ठेगानामा सम्पर्क गर्न सक्नेछन्।

 

३. विभिन्न कार्यक्रम, मिटिङ तथा चाडपर्व संचालन गर्न सभा-हलको व्यवस्था
कोरियामा रहेका विभिन्न नेपाली संघ संस्थाहरुले संस्थाको कार्यक्रम, मिटिङ तथा चाडपर्व मनाउन परेको खण्डमा नेपाल हाउसको सभा-हल उपलब्ध गराउन सकिनेछ। यस्ता कार्यक्रम संचालन गरे बापत नेपाल हाउस संचालनको लागि सामान्य दस्तुर पनि उठाईनेछ। एन आर एन कोरियाको नेपाल हाउसमा कम्तिमा १०० जना व्यक्तिहरु बस्न सक्ने क्षमता भएको सभाहल उपलब्ध भएकोले कोरियामा रहेका कुनैपनि नेपाली संघ संस्थाले कार्यक्रम आयोजना गर्दा नेपाल हाउसको सभाहल उपयोग गर्न सक्नेछन्। सभाहल उपयोगको लागि थप जानकारीको लिनु परेमा एन आर एन कोरियाको ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

 

नेपाल हाउस रहेको स्थान
नेपाल हाउस सिओल म.न.पा., जोङनोगु, वन्नाम्दोङ ८९-३, तेश्रो तल्लामा रहेको छ। यो ठाउं नेपालीहरूको “सानो नेपाल” भनी चिनिएको दोङदेमुनबाट हिडेर १५/२० मिनेटमा, रेल लाइन नं.१ को जोङनो ५गा, लाइन नं. ३को आन्गुक स्टेशन तथा लाइन नं. २/४को को उल्जिरो ४गा स्टेशबाट हिडेर १५ मिनेटमा पुग्न सकिनेछ। त्यसै गरि बस वा ट्याक्सी प्रयोग गरि वन्नाम्दोङ सागरीमा उत्रन सके सजिलै पुग्न सकिन्छ। नेपालीमात्र नभइ कोरियनहरू पनि आवश्यक परेको खण्डमा सजिलै पुग्न सक्ने तथा विभिन्न समयमा हुने भ्रमण र प्रत्यक्ष अवलोकनको लागि यातायात र सुविधाका आधारमा यस स्थानलाइ उपर्युक्त स्थान मान्न सकिन्छ।

 

सम्पर्क ठेगाना
Office: 3rd floor, #89-3, Wonnam Dong, Jongno-gu, Seoul Korea Mobile: +82-10-3281-4786 / +82-10-2720-3129